आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं, २८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै मुलुकको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सन् २०३० सम्म दिगो विकासको लक्ष्य भेट्टाउन सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नु पर्ने बताएका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुनका लागि समेत सरकार र निजी क्षेत्र मिलेर लगानी गर्नुको विकल्प नरहेको बताए । उनले द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी बिस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

वित्तीय प्रणालीको स्वस्थ र सबल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउनसमेत सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । लगानी बढाउन र रोजगारी सृजना गरी उत्पादन बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यका तीन वटै तहका सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।

आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जानकारी दिए । सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्र्याउन महत्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री दाहालले बताए । सम्भव भएमा सांसदबाट र नभए अध्यादेशमार्फत नै कानुनी व्यवस्था सुधार गरेर लगानीको ढोका खोल्नतर्फ ध्यान केन्द्रित गरेको प्रधानमन्त्रीको भनाई छ । यसो हुँदा उद्योगी व्यवसायीको मनोबल थप बढ्ने र विदेशी लगानीकर्ता समेत आकर्षित बनेर लगानी बढ्ने छ ।

मा प्रकाशित