आफैंले पारित गरेको बजेटमाथि अर्थमन्त्रीका प्रश्नैप्रश्न

निकास संवाददाता । काठमाडौं, २६ माघ, २०८१ ।

निकास संवाददाता | काठमाडौं, २६ माघ, २०८१ ।
पूर्ववर्ती सरकारले बनाएको चालु आर्थिक वर्षको बजेट सिद्धान्तमा उभिएर नबनेको आरोप उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा चालु आवको बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्दै सिद्धान्त विपरीत आएको बजेट बोझ भएको उनले बताए ।

‘त्यसबेलाको परिस्थितिले गर्दा यो बजेट संसद्ले पारित पनि गर्नुपरेको थियो, पछि म अर्थमन्त्री भइसकेपछि पूरक बजेटमा जान सकिन्थ्यो, एउटै सदन हो भनेर पूरक बजेट ल्याइनँ’– अर्थमन्त्री पौडेलले भने । तीन करोडभन्दा साना आयोजनामा बजेट विनियोजन नगर्ने मन्त्रिपरिषद्को नीतिगत निर्णयलाई पनि बेवास्ता गर्दै पूर्ववर्ती सरकारले ७५ हजारका आयोजना पनि राखेको आरोप समेत उनले लगाए । ‘त्यसबेला सरकारमा बस्नेले ७५ हजारको पनि बजेट बनाएर कुनै जवाफदेही हुनुपर्दैन ? सात हजार योजनामा ११ हजार योजना थपेर आयो, सङ्घीयताको मर्म यही हो ? सङ्घीय सरकारले ७५ हजारको बजेट कार्यान्वयन गर्छ भने प्रदेश र स्थानीय तहले के गर्ने ?’ अर्थमन्त्री पौडेलले प्रश्न गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा ३० अर्ब ‘अन्डर फन्डेड’ रहेको पनि अर्थमन्त्री पौडेलले बताए । पूरक बजेट ल्याउनेतर्फ नलागी ‘बिग्रिएको बजेट’ लाई कार्यान्वयनका क्रममा सच्याउन आफू लागिपरेको उनले दावी गरे ।

‘अध्यादेश निरङ्कुश भन्ने आधारहीन आरोप हो, संविधान र कानुनमा टेकेर आएको छ, यसलाई सदनमा पेस गरिएको छ, पारित वा फेल गर्न सकिन्छ, संविधान, कानुन र संसदीय प्रक्रियामा हिँड्नु निरङ्कुश हुनु हो ?’ उनले फेरि प्रश्न गरे । संसद्मा बिहीबारै प्रमुख प्रतिपक्षी दलका नेताले बोलेका विषयप्रति सङ्केत गर्र्दै उनले सदन आक्रोश र कुण्ठा व्यक्त गर्ने स्थल नभएको बताए । प्रमुख प्रतिपक्षी दलका नेताले आफूप्रति लक्षित गरी लगाएको आरोपलाई पुष्टि गर्न अर्थमन्त्री पौडेलले चुनौती समेत दिए । ‘यस्तो आरोप पुष्टि गर्न नसके उहाँले रोष्ट्रममा उभिएर क्षमायाचना गर्नुपर्छ, अर्थतन्त्रका बारेमा अभिलेख राख्ने राज्यका निकाय छन्, तत्कालीन प्रचण्ड सरकारले जोखिमको डिलमा लगेको अर्थतन्त्रलाई हामीले तानेर ल्याएका छौं’– उनले भने ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४९ अर्ब ९१ करोड खर्च भएको उल्लेख गर्दै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५६ अर्बभन्दा बढी खर्च भएको मन्त्री पौडेलले बताए । उपभोक्ता मूल्यवृद्धि पनि गत आवको ६ महिनामा भन्दा यस वर्ष घटेको उनले दावी गरे । गत आवको पहिलो ६ महिनामा ६.४४ प्रतिशत उपभोक्ता मूल्यवृद्धि रहेकामा यस वर्ष घटेर ४ प्रतिशतमा आइपुगेको उनले जिकिर गरे ।

आफू अर्थमन्त्री भएपछि निर्माण व्यवसायीलाई अघिल्लो वर्षको पनि भुक्तानी गरेको उनको भनाइ छ । विगत वर्षमा भन्दा यो वर्ष विप्रेषणको आप्रवाह नघटेको अर्थमन्त्री पौडेलले बताए । सरकारले हालै जारी गरेको अध्यादेशले विशेषगरी अर्थतन्त्रका समस्या समाधान गरेको, निजी क्षेत्र उत्साहित भएको, निजी क्षेत्रले एक स्वरले मुक्तकण्ठले अध्यादेशको प्रशंसा गरेको उनले सदनमा बताए ।

‘सरकारले गर्ने भो, जनताले साथ दिने भए भन्नेमा प्रमुख प्रतिपक्षी दलका नेतालाई चिन्ता छ, रङ्गुन खोलाको पुलले पूर्वअर्थमन्त्रीलाई चिन्तित बनाएछ, पुल बनाउन पुग्ने गरी तपाईंले बजेट विनियोजन गर्नुभएको थियो ?’ अर्थमन्त्री पौडेलले तेस्रो प्रश्न गरे ।
पूर्वसरकारले नेपाल धितोपत्र बोर्डका विषयमा आफैंले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको सुनाउँदै हिजोको सरकारले जुन प्रक्रियाबाट सुरु गरेको थियो, त्यसै अनुसार काम भइरहेकाले ‘भ्रम सिर्जना नगर्न’ उनले अनुरोध गरे । राजस्व लक्ष्यको नजिक पुग्ने अपेक्षा गरिएको उल्लेख गर्दै विश्व अर्थतन्त्रमै समस्या पर्दा पनि नेपालमा धेरै समस्या आउन नदिएको उनले दावी गरे ।

४.०४ प्रतिशतले धानको उत्पादन बढ्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान समेत उनले सुनाए । सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार गरिएको अर्थमन्त्री पौडेलले बताए । कम्प्युटरमा आधारित लेखा प्रणाली लागू गरिएको उल्लेख गर्दै सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली कार्यान्वयन गरिएको उनले बताए ।

बजेट खर्च ३५ प्रतिशत मात्रै

चालु आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकामा पुस मसान्तसम्म जम्मा खर्च विनियोजनको तुलनामा ३५ दशमलव ८९ प्रतिशत अर्थात् ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख रहेको अर्थमन्त्री पौडेलले बताए । यो खर्च विगत वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढी हो । समीक्षा अवधिमा नेपाल सरकारको स्रोततर्फ ६ खर्ब १८ अर्ब ५१ करोड ४३ लाख खर्च भएको छ, जुन १५ दशमलव ४८ प्रतिशतले बढी हो । हालसम्म करिव ३० अर्ब स्रोत व्यवस्थापन गरी दायित्व भुक्तानी गर्न सहजीकरण गरिएको अर्थमन्त्री पौडेलले बताए ।

समीक्षा अवधिमा ६ खर्ब ७२ अर्ब ८० करोड ९४ लाख राजस्व प्राप्तिको अनुमान रहेकामा यस अवधिमा विविध प्राप्ति सहित कूल ५ खर्ब ६७ अर्ब ४९ करोड ७३ लाख सङ्कलन भएको छ । राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत २७ आयोजनामध्ये चालु आवमा १९ आयोजना कार्यान्वयनमा छन् । ती आयोजनामा ६० अर्ब ३८ करोड ७१ लाख बजेट विनियोजन गरिएकामा ५४ अर्ब २४ करोड ८ लाख खर्च भई वित्तीय ९९ दशमलव ८२ र भौतिक प्रगति ५७ दशमलव ५० प्रतिशत रहेको छ ।

राष्ट्रिय गौरवका आयोजनामध्ये चालु आवमा १९ आयोजनाका लागि ६६ अर्ब ७५ करोड ३ लाख विनियोजन गरिएकामा समीक्षा अवधिमा १७ अर्ब १५ करोड ३२ लाख खर्च भएको छ, जसअनुसार २५ दशमलव ५ प्रतिशत खर्च भएको छ ।

मा प्रकाशित