केन्द्रीय समिति बैठकको तयारीमा माओवादी स्थायी समिति

निकास संवाददाता | काठमाडौं, १९ पुस, २०८१ ।

निकास संवाददाता | काठमाडौं, १९ पुस, २०८१ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को मुख्यालय पेरिसडाँडामा बिहीबार बसेको उक्त पार्टीको स्थायी समितिको बैठकले पुस २१ देखि बस्ने केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेको छ । स्थायी समितिको बैठकले ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सहितका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने गरी एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटाका अनुसार आसन्न केन्द्रीय समितिको बैठकमा अध्यक्ष सहित प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नेछन् । तत्काल सरकारमा नजाने स्पष्ट पारेको माओवादी केन्द्रले वर्तमान सरकारका कमजोरी र बदमासीविरुद्ध सदन र सडकबाट खबरदारी र विरोध गर्ने बताएको छ । पार्टी शुद्धीकरण नगरेसम्म सशक्त हुन नसक्ने निचोडका साथ शुद्धीकरणमा जोड दिँदै तत्काल सरकारमा नजाने माओवादीले बताएको । ‘हाम्रो पार्टीले प्रतिपक्षमा बसेर संगठन निर्माण गर्छ, अब हामी सरकारतिर होइन, जनतातिर फर्कन्छौं । सरकारका कमजोरीको सदन र सडकबाट विरोध र खबरदारी गछौं । हामी अब सरकार बनाउने खेलमा लाग्दैनौं ।’

स्थायी समिति बैठकमा केन्द्रीय समितिको बैठकका एजेन्डा प्रस्ताव गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समितिको धारणा नै पार्टीको धारणा हुने बताएको सहभागी एक नेताको भनाइ छ । केन्द्रीय समितिमा प्रस्तुत गर्न आफूले राजनीतिक प्रतिवेदन लेखिरहेको उल्लेख गर्दै त्यसमा केन्द्रीय समिति बैठकका भावना समेटेर अन्तिम स्वरूप दिइने धारणा अध्यक्ष प्रचण्डले राखेको माओवादीका एक पदाधिकारीले जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी कार्यक्रम र कार्ययोजना समेटिने बताइएको छ । ‘राजनीतिक प्रतिवेदन तयार हुँदैछ, भोलि–पर्सि पूरा होला,’ ती पदाधिकारीको भनाइ छ– ‘केन्द्रीय समितिमा साथीहरूले लिखित–मौखिक रूपमा दिएका सबै कुराहरूलाई समेटेर प्रतिवेदनले अन्तिम रूप लिन्छ; त्यहीअनुसार अध्यक्षको प्रतिवेदन आउँछ । अब कसरी जाने, सवै साथीहरूको सुझाव चाहियो ।’

अध्यक्ष प्रचण्डले स्थायी समितिमा प्राप्त सुझाव र भएका निर्णय पनि अन्तिम नहुने भनाइ बैठकमा राखे । ‘मैले मोटामोटी आज राखेका विषयहरूमा कमरेडहरूलाई केही लागेको छ भने भोलि राख्नुहोला,’ प्रचण्डको भनाइ उदृत गर्दै ती पदाधिकारीले भने– ‘अहिले यहाँ स्थायी समितिले निर्णय गरेर जाने कुरा हुँदैन किनभने तत्कालै केन्द्रीय समितिको बैठक छ । केन्द्रीय समिति सर्वेसर्वा हो, हामीले धारणा बनाएर जाने अथवा स्थायी समितिमा एकमत भनेर जाने गर्नु हुँदैन । त्यो बेठिक हुन्छ, त्यसो गर्नु लोकतान्त्रिक समेत हुँदैन । हामी त्यहाँ पनि स्वतन्त्र हुन्छौं, स्वतन्त्रतापूर्वक आफ्ना विचार राख्ने हो र छलफल गर्ने हो । अहिले हामीले केही सोच्दा यही धारणा बनाउने, यही धारणा हो भन्ने कुरा हुँदैन । केन्द्रीय समतिको धारणा नै हामी सबैको साझा धारणा हो । त्यसरी हामीले लोकतन्त्रलाई व्यवस्थित गर्न सक्छौं ।’

प्रवक्ता सापकोटाका अनुसार अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड रहेको छ । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्ने माओवादीको धारणा रहेको अध्यक्ष प्रचण्डको भनाइ प्रवक्ता सापकोटाले उद्धृत गरे । संविधान संशोधनभन्दा पनि संविधानको वास्तविक मर्म र भावनाअनुसार यसको कार्यान्वयनको आवश्यकतामा जोड दिएको उल्लेख गर्दै संविधान इमानदारीपूर्वक कार्यान्वयन नभएको प्रवक्ता सापकोटाले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रको स्थायी समिति बैठकले संसद्को हिउँदे अधिवेशन तत्काल बोलाउन समेत माग गरेको छ । अधिवेशन पछि धकेलेर दलसम्बन्धी अध्यादेश ल्याउने तयारी सरकारले गरिरहेको भन्दै माओवादीले त्यसको विरोध गरेर संसद्को बैठक तत्काल बोलाउन बोलाउन माग गरेको हो । कांग्रेस–एमाले गठबन्धन सरकारले अध्यादेश ल्याएर दल फुटाउने षड्यन्त्र गरेको जिकिर गर्दै माओवादी केन्द्रको स्थायी समिति बैठकले आपत्ति जनाएको छ । सरकार अस्थिरता ल्याउने उल्टो बाटोमा हिँडेको निष्कर्ष समेत माओवादी स्थायी समितिले निकालेको छ । संसद् बोलाउन सरकारलाई दबाब दिइने उपाध्यक्ष एवं प्रवक्ता सापकोटाले उल्लेख गरे ।

‘सरकारले संसद आह्वान गर्न आनाकानी गरेको छ । अब संसद् बैठक बोलाउन दबाब दिनुपर्छ । यतिबेला दलसम्बन्धी अध्यादेश ल्याउने कुरा गलत छ,’ प्रवक्ता सापकोटाले भने– ‘दल विभाजन गर्ने गरी सरकार निरंकुश बाटोमा हिँड्न खोजेको छ, हाम्रो पार्टीले त्यसको सशक्त विरोध गर्छ ।’ अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको यसअघिको सरकारले गरेका राम्रा कामहरूलाई ओली सरकारले अवरुद्ध गरेको भन्दै प्रतिवादका लागि कार्यक्रम बनाउनुपर्ने धारणा समेत स्थायी समितिको बैठकमा ण्व्यक्त भएका छन् । पुस २१ देखि सुरु हुने केन्द्रीय समितिको बैठकबाट मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने अभियान चलाउने निर्णय गरिने माओवादी केन्द्रले जनाएको छ ।

स्थानीय तहको उपनिर्वाचनको परिणामले आफ्नो दलप्रति जनभरोसा जागेको धारणा व्यक्त गर्दैै माओवादीको पुनर्निर्माणका लागि नेता तथा कार्यकर्ता छ महिनासम्म स्थानीय तहमै खट्नुपर्ने भन्दै आफूले त्यहीअनुसार राजनीतिक प्रतिवेदन तयार गर्ने पार्टी अध्यक्ष प्रचण्डले स्थायी समितिमा बताए । ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकमा राजनीतिक दस्तावेज तयार गरी पार्टीभित्रका समस्या हल गरेर जानुपर्ने निष्कर्ष आफूले निकालेको उनले बैठकमा जानकारी दिए ।

राजनीतिक प्रतिवेदनले विगतलाई निरन्तरता दिँदै आदिवासी, जनजाति, महिला, दलित, मधेशी र पिछडिएको समुदायको पहिचानको अभियानमा आफूहरू चुकेको स्वीकार गर्ने बताइएको छ । राज्य र पार्टीका हरेक अंगमा महिला सहभागिताको प्रतिशत बढाउने प्रतिबद्धता व्यक्त गर्दै ‘संविधानको रक्षा वा संशोधन’ का सन्दर्भमा राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक प्रणाली र सांसदबाहिरबाट मन्त्री हुनुपर्ने पार्टीको धारणा अब अघि सारिने प्रचण्डले बताए ।

सबै केन्द्रीय सदस्यले आ–आफ्नो सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने प्रचण्डले प्रस्ताव गरेका छन् । स्थायी समिति बैठकमा बोल्दै ‘हामी आफैं पारदर्शिताको उदाहरण बन्नुपर्ने’ मा उनले जोड दिए । पार्टी शुद्धीकरण गर्न सबै नेताले केन्द्रीय कार्यालयलाई सम्पत्ति विवरण बुझाउनुपर्ने उनले बताए । माओवादी केन्द्रको स्थायी समितिको यस बैठकमा ‘आमन्त्रित’ नेताका रूपमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन समेत सहभागी भए । पार्टीमा उनको पद र जिम्मेवारीबारे कुनै निर्णय नभएको जानकारी दिँदै आमन्त्रित नेताका रूपमा पूर्वउपराष्ट्रपति पुन बैठकमा आएको जानकारी महासचिव देव गुरुङले दिएका छन्सदस् । समाजवादी आन्दोलन अघि बढाउने आवश्यकताले पुनलाई सक्रिय राजनीतिमा ल्याएको पुननिटक एक नेताको भनाइ छ ।

मा प्रकाशित