बढ्यो गर्मी, भारतमा ६ जनाको मृत्यु

एजेन्सी, १६ जेठ, २०८१ ।

भारतको पश्चिमी राज्य राजस्थानमा उच्च तापक्रमका कारण ६ जनाको ज्यान गएको छ । गर्मीका कारण चार हजार जनाभन्दा बढी बिरामी भएका छन् । त्यहाँको तापक्रम यतिबेला ४९ डिग्री सेल्सियस पुगेपछि ‘हिट स्ट्रोक’ भएर ज्यान गुमाउने र अस्पतालमा आउने बिरामीको सङ्ख्या बढेको बीबीसीले जनाएको छ ।

भारतको दिल्ली, राजस्थान, पञ्जाब, हरियाना, उत्तर प्रदेश लगायतका ठाउँको तापक्रम झण्डै ५० डिग्री सेल्सियससम्म पुगेको थियो । त्यस क्षेत्रमा उच्च गर्मीका कारण मानिसको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । भारतीय मौसम विभागले देशले अप्रिलदेखि जुनसम्म चरम गर्मीको सामना गर्ने र मध्य तथा पश्चिमी प्रायद्वीप क्षेत्र सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेको थियो ।

मौसम विभागले पहिले नै मानिसलाई गर्मीको जोखिमबाट बच्न र चिसो ठाउँमा बस्न सुझाव दिएको थियो । स्थानीय सरकारले गर्मी मौसममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मा प्रकाशित