उत्पादन र रोजगार केन्द्रित बजेट निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन

निकासखबर संवाददाता

काठमाडौं, १४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमान सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जनताले सरकारबाट आशा गरेकाले उनीहरुको आशालाई पूरा गर्न गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् । नीति कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण भएकाले चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने गरी काम गर्नुपर्ने बताए ।

बजेट निर्माणका क्रममा अर्थतन्त्र दबाबमा रहेकाले धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर लैजानु पर्ने दुृष्टिकोणलाई पछाडि धकेल्दै चुनौतिभित्रको अवसरलाई समातेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नीति तथा कार्यक्रम र बजेट निर्माणमा दुईथरी दृष्टिकोण छन् । एउटा दृष्टिकोण छ,’अर्थतन्त्र दबाबमा छ, धान्न सक्ने परम्परागत ढाँचाकै बजेट बनाएर जानुपर्छ । अर्को दृष्टिकोण छ, ‘चुनौतीभित्र नै केही गरेर देखाउने र परिणाम दिने अवसर पनि हुन्छ । त्यसैले नीति तथा कार्यक्रम र बजेटमार्फत केही नयाँ गरौँ भन्नेमा दृढ छु ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डले सङ्कटको बेला राज्यले हस्तक्षेप गरेरै भए पनि अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै राज्यप्रति जनताको विश्वास बढ्ने अवस्था पनि यस्तै बेला भएकाले त्यसैले बजेटमा नयाँपन दिनुपर्ने बताए ।

सरकारले केही नयाँ गर्दैछ भन्ने कुरा जनताले प्रष्ट देख्ने खालको बजेट आवश्यक भएको प्रधानमन्त्री प्रचण्डले बताए । यसका लागि सम्पूर्ण गृहकार्य गर्न र राजस्व बढाउने नयाँ कार्ययोजना सहित अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिए ।

मा प्रकाशित