दूग्ध किसानहरुको आन्दोलन स्थगित

निकासखबर संवाददाता

काठमाडौं, २० फागुन । सरकार र किसानहरुबीच पाँच बुँदे सहमति भएपछि दूध किसानहरुले आन्दोलन स्थगित गरेका छन् । दुध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ नपाएको भन्दै दुध सडकमा फालेर आन्दोलनमा उत्रिएका किसान र सरकारबीच शनिवार सहमति भएको हाे । शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा सरकार, उद्योगी र दूग्ध सहकारी संघबीच वार्ता भएको हो । वार्तामा किसानहरुले आगामी एक महिनाभित्र दूध बिक्रीवापतको रकम भुक्तानी पाउने सहमति भएको छ ।

दूग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार आगामी चैत्र २१ गतेसम्ममा दूधको भुक्तानी पाउने सहमति भएको बताएका छन् । उनका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवद्र्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको छ ।

मा प्रकाशित