मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारको आह्वान

निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ । गृह मन्त्रालयलेले आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई पत्र पठाउँदै वार्तामा बोलाएको हो ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको सो पत्रमा समस्या समाधानका लागि वार्तामा आउन मिटर व्याज पीडितहरुलाई बोलाइएको छ ।

अध्यक्ष कुशवाहालाई लेखिएको पत्रमा भनिएको छ, ‘सो कार्यक्रममा तपाईं नेतृत्व रहेको भन्ने बुझिन आएकाले समस्या समाधानका सम्बन्धमा थप छलफलका लागि मन्त्रालयमा आमन्त्रण गरिएको छ । बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित हुनुहोला ।’ अध्यक्ष कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण जनाएको छ ।

यता मन्त्रालयले संघर्ष समितिलाई वार्तामा बोलाउनुपर्नेमा व्यक्तिगत रुपमा पत्र लेखेको भन्दै समितिले भने असन्तुष्टि जनाएको छ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित