बाँसबारी जग्गा घोटाला प्रकरणः चौधरीसहित तीन जना रिहा

निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।  उनीहरूलाई सीआईबीको हिरासतमा राखिएकाे थियाे ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नेसम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई केन्द्रीय अनुसन्धान ब्युरोले माघ १८ मा पक्राउ गरेको थियो ।

 

मा प्रकाशित