व्यवसायीहरूको समस्या समाधानमा पहल गर्नेछु : राष्ट्रपति पौडेल

निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ज्ञापनपत्र बुझ्दै बुधबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीको समस्याप्रति आफू गम्भिर रहेको पनि बताए । अब चाँडै नै व्यवसायीहरुको समस्या समाधानका लागि सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

राष्ट्रपति पौडेलले उद्योगी व्यवसायीहरुले उठाएका मागहरु जायज भएको भन्दै यसको समाधानका लागि सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘तपाईंहरुले उठाएको माग जायज छन्, मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि तपाईंहरुजस्ता उद्योगी व्यवसायीले खेलेको भूमिका महत्वपूर्ण छ, तपाईंको समस्याको समाधान हुन्छ ।’

उद्योगी व्यवसायीहरुले कर्जाको ब्याजदर घटाउनुपर्ने माग राख्दै भन्सार दरबन्दी घटाउनुपर्ने, युवालाई स्थानीय तहमा सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने, युवालाई कृषिजन्य उत्पादनमा जोड्नका लागि विशेष योजना ल्याउन सरकारसँग पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको महासङ्घका अध्यक्ष कुमार कार्कीले बताए ।

महासङ्घले किसानले उत्पादन गरेको सामग्रीलाई बजारसम्म लैजाने क्रममा ठाउँठाउँमा अनावश्यक कर तिरेर पाइरहेको दुःखको अन्त्य गर्नुपर्ने, व्यापारिक केन्द्रलाई व्यवस्थित बनाउनुपर्ने, रसुवाबाट केरुङ सामान ढुवानी गर्न जाने ट्रक र सामान लोड गर्ने मालधनी वा प्रतिनिधिलाई केरुङ जान रोक लगाउँदा व्यवसायीले समस्या भोग्नुपरेको भन्दै यसको सहजिकरणका लागि माग गरेको छ ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित