भ्रष्टाचार सूचकांकमा नेपाल दुई स्थान माथि उक्लियाे

निकासखबर संवाददाता

काठमाडौं, १६ माघ । नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको छ । गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए पनि विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपाल कायमै रहेको हो

ट्रन्सपरेन्सी इन्टरनेशनल (टीआई)ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क रिपोर्टमा नेपालको अवस्थामा दुई स्थान सुधार आएको छ । नेपाल ११० औं स्थानबाट १ सय ८ औं स्थानमा उक्लिएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० मुलुकमध्ये नेपाल ३५ अंकका साथ १०८ औं स्थानमा रहेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो प्रेश वक्तव्यमा न्याय प्रणालीको स्वतन्त्रताबाट मात्र भ्रष्ट आचरणमाथि कारबाही बढ्ने र शक्ति सन्तुलन हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।

सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँदछ भने ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरू गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

कार्यक्रममा ट्रान्सपरेन्सी नेपालकी अध्यक्ष पद्मिनी प्रधानाङ्गले गत वर्षको तुलनामा नेपालको अंकका केही सुधार भए पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै कायमै रहको बताइन् । उनले भ्रष्टाचार विरुद्धको जनचाहना सम्बोधन गर्न सरकार यथाशीघ्र अति गम्भीर हुन जरुरी रहेको बताइन् ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्सले ९३, श्रीलंका ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेको छ ।

 

मा प्रकाशित