काठमाडाैं । आज १६औं गणतन्त्र दिवस उल्लासमय वातावरणमा मनाइँदैछ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छ ।
दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । हरियो कपडा लगाएर उनले सरकारी निवास परिसरमा रहेको करेसाबारीमा सोमवार बिहान विभिन्न तरकारीका बिउ र बेर्ना रोपेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् ।
बेर्ना रोप्दै उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए ।
‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन,’ उनले भने ।