एसीसी प्रिमियर कप : हङकङलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

निकासखबर संवाददाता

काठमाडौं, ३ बैशाख । एसीसी प्रिमियर कप अन्तर्गत सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको छ । हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए । यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने । नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन बनाउँदा सन्दीप जोराले १९ रनको योगदान दिए ।

नेपालका लागि अविनाश बोहराले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए। उनले हङकङका याशिम मुर्तजा, जिशन अली र नशरुल्लाह रानालाई आउट गरे । यस्तै स्पिनर ललित राजवंशीले २ विकेट लिए । त्यस्तै नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ऐरीले हङकङका कप्तान मोहम्मद निजाकत खानलाई रनआउट समेत गरेका हुन् ।

हङकङका ब्याट्सम्यान अन्शुमन राठले ३४ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको थियो । खेल १८÷१८ ओभर खेलाइएको थियो ।

नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

 

मा प्रकाशित