अन्तिम खेलमा वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालको सानदार जित

निकासखबर संवाददाता

काठमाडौं, २२ बैशाख । पाँच खेलको टी– २० सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’  लाई ६ विकेटले पराजित गरेको छ । नेपालले पहिलो र अन्तिम गरी दुई खेल जितेको हो । यद्दपि यसअघिका तीन खेलमा भने लगातार हार व्यहोरेको नेपालले उपाधि भने हात पार्न सकेन ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० विश्वकप तयारीका लागि खेलिएको खेलमा नेपाली टप अर्डरको लगातारको खराब फर्म भने अन्तिम खेलमा सुधार गरेका छन् । १७३ रनको लक्ष्य पछ्याएको नेपालले ७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्‍यो। पहिला टस जित्दै ब्याटिङ गरेको वेस्टइन्डिजले ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरेका छन्। साहले ४५ बलमा ५८ रन बनाए भने शेखले ३५ बलमा ५१ रन बनाए । यस्तै कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्दै खेल फिनिस गरे ।

मल्लले मात्र १८ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा ३७ रनको नटआउट पारी खेले। दिपेन्द्र सिंह ऐरीले ५ तथा कुशल भुर्तेलले १३ रन जोडे । बलिङ तर्फ वेस्टइन्डिजका ओवेद मकोयले ३ र माथ्यू फोर्डले एक विकेट लिए ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे। रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे । बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ – ३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो । अभिनाश बोहोराले एक विकेट लिए ।

 

मा प्रकाशित