काठमाडौं, २८ चैत । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलकतर्फका लागि लिइएको परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा उत्पादनमुलकतर्फ पहिलो चरणको भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्येमा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
पहिलो चरणको परीक्षामा पास भएकाहरूले २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा दिनुपर्ने वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले जनाएको छ ।
‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ।
उत्तीर्ण परीक्षार्थीलाई राहदानी र प्रवेश पत्रसहित तोकिएको मिति, स्थान र सममयमा उपस्थित हुन ईपीएस कोरिया शाखाले भनेको छ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ ।
सन् २०२३ का लागि अनुमानित १५ हजार ४४८ जनालाई कोरियाको उत्पादनमूलक क्षेत्रमा लैजान भन्दै दरखास्त आह्वान गरिएको थियो । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि जान भन्दै १ लाख ६३ हजार ६३५ जनाले आवेदन फारम भरेका थिए ।