अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइन्छः प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अत्यावश्यक ऐन तथा कानुनहरु तत्काल ल्याइने बताएका छन् । नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले लामो समयदेखि रोकिएको संघीय निजामती ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन निर्माण प्रक्रिया तीव्र गतिमा बढाइएको जानकारी गराउउँदै उनले यस्तो बताएका हुन् । उता नेपाल प्रहरीमा ३० वर्षको सेवा अवधिको प्रावधान हटाउन चलखेल भइरहेको समाचार बाहिरिएको छ । यता प्रधानमन्त्रीले तत्काल ऐन र नियमहरु संशोधन र तर्जुमा गर्ने बताउनुलाई बाघ कराउने र बाख्रा हराउने अवस्थासँग दाँजेर हेर्न थालिएको छ ।

नेपाल प्रहरीको सेवाअवधि सम्बन्धमा यसअघि नै सर्वोच्च अदालतले ‘आवश्यकता परेमा विनियमावली होइन,ऐन संशोधन गर्नु’ भन्ने आदेश दिएको थियो । तर प्रहरीमा पटक पटक अध्यादेश वा विनियमावली संशोधन मार्फत ३० वर्षे सेवा अवधि हटाउने चलखेल हुँदै आएको छ ।

चैत १० गतेदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलगायतको एउटा समूह पनि सोही प्रावधानका कारण अवकाश हुँदैछ । अहिले ३० वर्षे सेवा अवधि हटाएर ५८ वर्षको उमेर प्रावधानबाट अवकाश हुने व्यवस्थाको निम्ति चलखेल भइरहेको बताइन्छ ।

आजै सो समारोहमा प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०७९र०८० मा विभिन्न पाँच विधामा उत्कृष्ट हुने छ वटा नगरपालिकालाई सम्मानसहित पुरस्कृत गर्नुभएको छ । सामाजिक विकासको क्षेत्रमा उत्कृष्ट काम गरेवापत ललितपुर महानगरपालिका र शहरी योजना पूर्वाधार विकास तथा विपद व्यवस्थापनमा उल्लेखनीय काम गरेवापत भरतपुर महानगरपालिकालाई पुरस्कृत गरिएको जानकारी दिइएको छ ।

आर्थिक विकासतर्फ उत्कृष्ट काम गर्ने इलामको सूर्योदय नगरपालिका र चितवनको खैरहनी नगरपालिका,वन, वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा वीरेन्द्रनगर नगरपालिका, सुर्खेत र संस्थागत विकास,वित्तीय सुशासन र सेवा प्रवाहतर्फ धनगढी उपमहानगरपालिकालाई कार्यक्रममा पुरस्कृत गरिएको छ ।

२०५० सालमा स्थापित नेपाल नगरपालिका संघमा दुई सय ७६ नगरपालिका सदस्य छन् ।

मा प्रकाशित