गति लिँदै भेडेटार–राँके सडक

निकासखबर संवाददाता

धनकुटा । पछिल्लो समय धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माणले गति लिन थालेको छ । धनकुटाको भेडेटारबाट पाँचथरको राँकेसम्म निर्माणाधीन कालोपत्र सडकको चौथो पटक म्याद थपेसँगै निर्माण कार्यले गति लिएको हो ।

एक सय किलोमिटर कालोपत्र सडक निर्माणका लागि भारत लखनऊको एप्को इन्फाटेक इन्डियाले जिम्मा पाएको थियो । २०७५ माघदेखि २०७८ माघसम्ममा काम सक्ने जिम्मा भारतीय कम्पनीले गत मङ्सिरमा पुनः २०८१ मा काम सक्ने थप म्याद पाएको छ ।एक्जिम बैंक भारतको तीन अर्ब २६ करोड सहुलियत ऋण कर्जामा सुरु भएको सडक निर्माण अवधि पूरा भएको समयावधिमा १६ प्रतिशत मात्र काम पूरा भएको थियो ।

थप म्यादपछि द्रुतगतीमा काम थालेको एप्कोले गत माघ महिनासम्ममा आफ्नो कामको प्रगति २२ प्रतिशत पुर्याएको आयोजनाको जिम्मा पाएको सडक सुधार तथा विकास आयोजना कार्यालय पाँचथरका इन्जिनियर शरद पाण्डेले जानकारी दिए । अहिले कम्पनी आफैँ आएर काम गरिरहेको र यही गतिमा काम भए तोकिएकै समयमा काम पूरा हुने उनको भनाइ छ । मुख्य निर्माण कम्पनीले काम दिएको भारतकै सहायक कम्पनीले काम नगर्दा समयमा काम पूरा नभएको पाण्डेले बताए ।
आयोजना सम्पन्न गर्ने क्रममा प्रक्रिया मिलाउन करिब दुई वर्ष लागेको तथा साथमा कोभिड र जिम्मा दिएको कम्पनीले समेत काम नगर्दा समयमा आयोजना पूरा हुन नसकेको एप्कोका प्रमुख अभिताभ होसको भनाइ छ । बाँकी कामको जिम्मा आफ्नै कम्पनीको निगरानीमा हुने भएकाले थप भएको समयमा आफ्नो कम्पनीले काम पूरा गर्ने होसको भनाइ छ । तराईको पूर्व–पश्चिम महेन्द्र राजमार्गको मापदण्डमा ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्वप्रधानमन्त्री केपी ओलीले शिलान्यास गरी काम सुरु भएको थियो । सडक निर्माण सम्पन्न भएपछि धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङलाई सुनसरी, मोरङ र झापा जिल्लाले जोडिँदा उक्त क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुनेछन् ।

मा प्रकाशित