चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुग्छः खानेपानी मन्त्री चौधरी

निकासखबर संवाददाता

सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका छन् ।
विहिवार मेलम्ची खानेपानीको हेडबक्स बाँध स्थल हेलम्बुमा पुगेर मन्त्री चौधरीले सरकारले घोषणा गरे अनुसार चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौंमा पुर्याउने बताएका हुन् ।

उनले अहिले मेलम्चीको पानी काठमाडौं ल्याउनको लागि तिव्रगतिमा कार्ययोजना अनुसार नै मेलम्ची खानेपानी मुहान सफा गर्ने काम भइरहेको बताए । मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभई उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउ । अहिले अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको भन्दै मन्त्री चौधरीले स्थायी बनाउनको लागि एसियाली विकास बैंकले अध्ययन गरिरहेको उल्लेख गर्दै अहिले सुरुङ मार्गमा रहेको पानी निकालेर सफाइ गर्ने कार्य मुहानमा ९० प्रतिशत सफाइको काम सकिएको बताए ।

त्यस्तै, हेल्मबु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने हेल्मबु गाउँपालिकाको पनि दायित्व रहेको बताए । हेल्मबु गाउँपालिकाले काठमाडौं वासीलाई मेलम्चीको पानी खुवाउने दायित्व पूरा गर्ने तर काठमाडौं वासीले शुल्क तिर पानी खाँदा हेल्मबुका जनतालाई २५ प्रतिशत हिंसा पाउनु पर्ने माग राखे । उनले हेल्मबुले पहिला देखि यो माग राख्दै आएकाले मेलम्चीको पानी शुल्क तिर काठमाडौंका जनताले खानु प¥यो भने हेल्मबुवासीले हिंसा नछोड्ने दाबी गर्दै सरकारले मेलम्चीको पानी काठमाडौंमा लग्ने मात्रै नभएर पानीको मुहानको संरक्षण र प्रभावित क्षेत्रका जनतालाई दिएको राहतले नपुग्ने भन्दै राहत थप गर्न सरकारसँग माग गरे ।

त्यस्तै, मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले महानबाट टर्नेल सफा गर्न १७ नम्बर गेट खुल्ला गरेर काम अगाडि बढाएको बताए । उनले अहिले मेलम्ची खानेपानीको मुहानको बाहिर काम सकिएको बताउँदै टर्नेल भित्रभएको लदो माटो सफा गर्नको लागि सबै गेट खोल्ने तयारीमा रहेको जानकारी दिए । गेट खोलेर टर्नेल सफा गर्दै ७ दिनमा मेलम्चीको पानी सुन्दरीजल पु¥योउने योजना अनुसार काम भइरहेको कुँवरको भनाइ छ ।

मेलम्चीमा गत असार १ गते आएको बाढीका कारण लेदो सुरुङभित्र पसेको थिया । सुरुङमा पसेको लेदो हटाउन अझै दुई–तीन दिन लाग्ने भएको छ । १७ नम्बरको ढोका खोलिसकेकाले सुरुङ्मार्ग सफाइको काम अगाडि बढाएको छ । मेलम्चीमा १, ९, १७, ३८ र २१ गरेर पाँच वटा मुख्य गेट छन् । मुख्यतया पानी पठाउनका लागि आवश्यक पर्ने गेट ९, ३८ १७ र २१ नम्बरका हुन् । यीमध्ये ३८ नम्बर गेट खुलिसकेको छ । बाढीको कारण मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्सको संरचना २० देखि ३० फिटसम्म पुरिएको थियो । बाढीले हेडवक्र्स डाइभर्सन टनेल र अम्बाथान अडिट टनेल पनि गेग्रान भरिएको थियो तर पनि सरकारले हेडवक्र्सका गेग्रान हटाइ फास्ट–ट्रयाकमा सुरुङ सफा गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको छ ।

असारको पहिलो साता आएको बाढीले मेलच्ची आयोजनामा ठूलो क्षति पु¥यायो । निर्माण सामग्रीसहित स्थायी संरचना पुगेको क्षतिले आयोजनालाई पुनः पछि धकेलेको थियो । यसले काठमाडौंबासीलाई मेलम्चीको पानी कहिलेदेखि उपलब्ध हुन्छ भनेर यकिन थिएन तर मन्त्री सरकारले चैत मसान्तमा नै पानी ल्याउने बताएको छ ।

मा प्रकाशित