राजधानीमै २२ वर्ष देखी अलपत्र आयोजना बल्ल भयो निर्माण सुरु

निकासखबर संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकामा रहेको मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु भएको थियो ।

आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो । यही कारण आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद समेत हुँदै आएको थियो ।

नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौँ उपत्यका विकास प्राधिकरणमा दबाब दिँदै आएका थिए ।

एक हजार ४८६ रोपनी क्षेत्रभित्र सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनामा अहिलेसम्म स्थायी लालपुर्जा वितरण ७५ प्रतिशत सकिएको र सेल्स प्लट बिक्री ८३ प्रतिशत सकिएको छ । अधिकांश सडक चार मिटरको रहेको यो आयोजनामा विसं २०७२ को भूकम्पपछि मात्रै बाँकी रहेका मूल सडकलाई ११ मिटर बनाइएको थियो ।

नगरपालिकाले आयोजनालाई आफ्नो स्वामित्वमा लिएपछि भने यहाँको चार र ११ मिटरका सबै सडकमा ग्राभेल गर्ने, ढल, खानेपानीको पाइप बिछ्याउने, ११ मिटरका सडकमा फुटपाथ बनाउने काम सम्पन्न भएको छ । आयोजनाभित्र ११ लाख लिटरको खानेपानी ट्याङ्की निर्माण, ऐतिहासिक धारा तथा पाटीहरूको परम्परागत शैलीमा निर्माण गर्ने कार्य भइरहेको नगरप्रमुख श्रेष्ठले बताए ।

नगरपालिकाले आयोजनामार्फत रु ७४ करोड २७ लाख अनुमानित लागत ठेक्का आह्वान गरेकामा रु ५४ करोड ६५ लाख ५१ हजारको ठेक्का सम्झौतामा हाल आयोजनाभित्रको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ ।

आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्दै उनले सडक कालोपत्र सुरु भएकाले अब नरोकिने र आगामी एक वर्षमा सबै सडक कालोपत्र सम्पन्न गरिने बताए ।

आयोजनाभित्रका चार मिटरका सडकको बीच–बीचमै विद्युत् प्राधिकरणको पोल रहेकाले कालोपत्रमा समस्या गरेपछि आयोजनाले पोल हटाइदिन पटक–पटक प्राधिकरणलाई ताकेता गर्दा पनि अटेर गरेको आयोजनाका प्रमुख सत्यसुन्दर श्रेष्ठको भनाइ छ ।

मा प्रकाशित