अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

निकासखबर संवाददाता

काठमाडौं, २४ वैशाख । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालबाट विभाजन भएर अशोक राई नेतृत्वको ‘जनता समाजवादी पार्टी’ जसपा निर्वाचन आयोगमा दर्ता भएको छ । आएतबार यादव नेतृत्वको जसपा नेपाल विभाजन गरी राईको नेतृत्वमा नयाँ दल दर्ता भएको थियो । नयाँ दल दर्ताका लागि राईले आइतबार नै आयोगमा निवेदन दिएका थिए ।

सोमबार बसेको निर्वाचन आयोगको बैठकले जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार दल दर्ताको निर्णय गरिएको जानकारी दिएका छन् ।

‘आयोगमा परेको निवेदनबमोजिम राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी संक्षिप्तमा (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखिकरण गर्ने भनेर आयोगले निर्णय गरेको छ’ प्रवक्ता पौडेलले भने ।

आयोगले दल दर्ताको जानकारी र दल दर्ताको प्रमाणपत्र ‘जनता समाजवादी पार्टी’ लाई दिई सम्बन्धित निकायहरुलाई लेखी पठाउने जनाएको छ ।

 

मा प्रकाशित