बझाङ प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

निकासखबर संवाददाता

काठमाडौं, १७ बैशाख । उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभामा भएको निर्वाचनबाट नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न मतगणनामा भण्डारीले २६६ मतान्तरणसहित ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४३ प्राप्त गरेका हुन् । भण्डारीको यो जीतसँगै सुदूरपश्चिम प्रदेशसभा सदस्यको सिट सुरक्षित गरेका हुन् ।

को हुन् भण्डारी ?
२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ भण्डारी गाउँमा जन्मिएका दमनले २०४१ सालको एसएलसी दिएपछि अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका भण्डारी नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर समाज सुधारका काममा लागेका थिए । बझाङमा लैङ्गिक हिंसाविरुद्धको अभियान समेत चलाएका उनलाई एमालेभित्र इमानदार, भद्र र शालिन व्यक्तिका रुपमा चिनिन्छ । उपनिर्वाचनको मुखमा बुबा गमाएका भण्डारी २०५४ सालमा मटेला गाविसको एमाले अध्यक्ष निर्वाचित भएका थिए । २०५५ सालमा जिल्ला कमिटी सदस्य, निर्वाचन क्षेत्र १ को क्षेत्रीय कमिटी सचिव बनेका उनी ०६२ सालमा राष्ट्रिय युवा संघ नेपाल अञ्चल कमिटी सचिव बनेका थिए । २०६९ सालमा भएको सातौँ जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिव हुँदै हाल बझाङ एमाले अध्यक्ष समेत रहेका छन् । यो उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा आकाङ्क्षी ६ जनाबिच मतदान गराउँदा भण्डारी सबैभन्दा धेरै ९४ मत प्राप्त गरेका थिए ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित