डेढ किलो सुन र नगद सहित सात जना पक्राउ

निकासखबर संवाददाता

काठमाडौं, १४ वैशाख । अवैध सुन कारोवार गर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । डेढ किलो सुन र एक करोड नगद रुपैयाँ सहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–३, टाँटेका ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापाको बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारतको महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका छन् ।
उनीहरुको साथबाट एक किलोग्राम ७६८ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सुनको अवैध कारोबार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौंको इन्द्रचोकबाट बिहीबार साँझ पक्राउ गरी शुक्रबार प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको थियो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

मा प्रकाशित