बाइसधारामा बैशाख ११ गतेदेखि ल्हुति पुन्हि मेला सुरु

निकासखबर संवाददाता

काठमाडौँ, ५ बैशाख । काठमाडौँको प्राचीन धार्मिक तीर्थस्थल बालाजु बाइसधारामा पाँचदिने बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला यही वैशाख ११ गतेदेखि सुरु हुने भएको छ । चैत्र शुक्ल पूर्णिमादेखि पाँच दिनसम्म लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बालाजु बाइसधारा मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । यसअघि बालाजु उद्यान कार्यालयले मेलाको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्षबाट मेलालाई अझ भव्य र सभ्य बनाउने उद्देश्यले मेला व्यवस्थापन समिति नै गठन गरिएको समितिका सह–संयोजक प्रकाश बलामीले जानकारी दिए ।

विगतका दिनहरुमा उद्यान कार्यांलयले मेला व्यवस्थापनको जिम्मा लिँदा कर्तव्य पूरा गर्ने काम मात्रै भएको र आफूहरु स्वयम् सेवक बनि ती कुराहरुलाई नजिकबाट नियाल्ने मौका पाएको भन्दै यस वर्षबाट विगतका कमीकमजोरीहरु हुन नदिने गरी काम अगाडि बढाइएको उनले बताए ।

मेला व्यवस्थापन समितिका संयोगक गौतम प्रजापतिले मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि व्यवस्थापन समितिले काम गरिरहेको बताए । काठमाडाैं उपत्यकाको उत्तर –पश्चिमको सबैभन्दा ठूलो यस मेलालाई गत वर्षभन्दा भव्य रुपमा सम्पन्न गर्नका लागि सबै ठाउँमा पत्राचार गरिएको उनले बताए ।

प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायव उपरीक्षक रामकुमार दानीले मेलाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरिसकिएको बताए । मेलाका समयमा कुनैपनि घटना अप्रिय घटना नघटोस् भन्ने उद्देश्यले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्ने तयारी गरेको समेत उनले बताए । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले विगतका अनुभवलाई हेरेर ट्राफिक व्यवस्थापन चुस्त तथा दुरुस्त पारिएको बताए ।

बालाजु बाइसधारा उद्यान कार्यालयका प्रमुख निरञ्जन बस्नेतले बालाजु बाइसधारा मेलाको समयमा बालाजुका २२ वटै धारामा पानी आउने व्यवस्था मिलाइएको बताए । उक्त समयमा बालाजु बाइसधारामा जात्रासमेत लाग्ने गर्दछ । तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिकाका र काठमाडौँ महानगरपालिका वडा नं १६ को पाँच वटा खट बालाजु बाइसधारामा आउने व्यवस्थापन समितिका सचिव विजयकुमार झाले जानकारी दिए ।

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । ल्हो हिटी अर्थात ढुंगाको धारा अपभ्रंस भई ल्हुति रहन गएको यस बाईसधारा क्षेत्र नागार्जुन पर्वतमुनि पर्ने सुन्दर भूमि हो । भण्डै १६२ रोपनी क्षेत्रफलमा फैलिएको बालाजु बाईधारामा हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन वृहत धार्मिक मेला लाग्ने गर्दछ ।

धार्मिक हिसावले यस क्षेत्रभित्र अवस्थित शैलेश्वरी योगिनी (शितला माजु) ठूलो पोखरीको छेउमा भैरवी, बनदेवी, बाल निलकण्ठ तथा रत्न चुंडेश्वर मन्दिर लगायत अवस्थित छ । धार्मिक तथा पर्यटकीय हिसावले यहाँ दैनिक उपत्यकाबाट हजारौ संख्यामा भक्तजन तथा पर्यटकहरु आउने गर्दछन् । पाँच दिनसम्म चल्ने मेलामा देशभरबाट दुई लाख ३० हजार अवलोकनकर्ताको सहभागीता रहने आयोजकको अपेक्षा रहेको छ । मेलाको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका वडा नं १६ ले आर्थिक सहयोग गर्ने छ ।

मा प्रकाशित