देश बन्दैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ : अध्यक्ष ओली

निकासखबर संवाददाता

काठमाडौँ, १ बैशाख । नेकपा (एमाले) का केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले देश बन्दैन भन्ने भ्रमबाट नेपाली जनतालाई मुक्त गराउनुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्छ । अध्यक्ष ओलीले कुनै पनि देश अरू कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट पार्दै नेपाललाई पनि अरु कोही आएर नबनाइदिने भन्दै हामी नेपाली आफैँले बनाउनुपर्ने बताए । त्यसको लागि दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्ने बताए ।

अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गरे । उनले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको तथ्यसहित तीन विषयमा प्रष्ट हुन आग्रह गरे ।

मा प्रकाशित