करोडौँ पर्ने बुद्धचित्तको बोट अज्ञात समूहद्वारा काटियो

निकासखबर संवाददाता

काभ्रे, ३० चैत । काभ्रेको रोशी–५ नागबेलीमा रहेको एक व्यक्तिको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ । बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम समेत फेला परेको काभ्रे प्रहरीले जनाएको छ ।

स्थानीय ठकुरानी तामाङको घरअगाडि सो बम फेला परेको हो । घटनापछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।

बुद्धचित्त मालाको बोट १५/२० जनाको अपरिचित समूह आई काटेको हो । बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुद्धचित्त पनि भनिने बोधिचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप्ने मालामा प्रयोग हुने गर्दछ । यो महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

 

मा प्रकाशित