अब पालो पूर्वको : प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

विराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पूर्वलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताए । उनले आगामी नीति तथा कार्यक्रम एवं बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने भन्दै मुलुकको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट निर्माण गरिने बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले जनताका पक्षमा महत्त्वपूर्ण पहल लिएको बताउँदै सरकारका कार्यबाट जनतामा सकारात्मक आशा जागेको समेत उल्लेख गरे । अध्यक्ष प्रचण्डले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिए ।

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सङ्घीयता, समावेशिता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गरे । त्यस्तै आगामी दिनमा माओवादी आन्दोलनका सहभागीहरू एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा सहभागीहरु चाँडै एकताबद्ध हुने बताए ।

मा प्रकाशित