महरालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

निकासखबर संवाददाता

काठमाडौं, ५ चैत । नेकपा ‘माओवादी केन्द्र’ का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले चार दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो । महरालाई प्रहरीले सोमबार बिहान पक्राउ गरिएको थियो ।

काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उनलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो ।

इलेक्ट्रोनिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राउ परेका हुन् । ९ किलो सुन र ६० किलो सुन प्रकरणसम्बन्धी अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले उनीविरूद्ध पनि मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगले गत बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्रतिवेदन बुझाएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालय हुँदै उक्त प्रतिवेदन सिआइबीमा पुगेको थियो ।

 

मा प्रकाशित