गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

निकासखबर संवाददाता

कास्की, २२ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् ।

मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दुई जना मन्त्री हटाएको पत्र पठाएका थिए । मन्त्रिपरिषद् हेरफेर भएको पत्र आएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रमिला गौतमले जानकारी दिइन्।

माओवादी, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए । अहिले केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारी गर्ने सहमति बनेको छ। मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।

मा प्रकाशित