निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो : प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन् । उनले पटक–पटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको समेत बताएका छन् ।

सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताए ।

उनले भने, ‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो ।’

दाहालले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा दिँदै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि पनि बताए । ‘विप्लव उठ्नेबित्तिकै तपाईंहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ । मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट । घेरा तोड्दै आएका छौं तोड्दै जान्छौं । साथीहरूलाई म भन्छु ठूला कुरा गर्नु भन्दा हामी क्रान्तिकारीहरू एकठाउँमा उभिऔं ।’ उनले भने ।

 

मा प्रकाशित