काठमाडौं, १३ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमालाई दिइएको छ । उनको १६ फेब्रुअरीमा आर्कटिक सर्कलको जेलमा मृत्यु भएको थियो । उनको अन्तिम संस्कार हुन भने बाँकी रहेको बीबीसीले जनाएको छ ।
नाभाल्नीको अन्तिम संस्कार गोप्य ढंगले गर्न उनकी आमालाई मनाइएको र त्यही सर्तमा शव दिइएको दाबी गरिएको छ । यसअघि शव माग गर्दै आमा ल्युदमिया नाभाल्नीको मृत्यु भएको जेल अगाडि उभिएकी थिइन् ।
नाभाल्नीको मृत्युको प्रमाणपत्रमा मृत्युको कारण प्राकृतिक लेखिएको छ । त्यसमा उनकी आमा ल्युदमियाले हस्ताक्षर गरेपछि मात्र शव जिम्मा लगाइएको हो ।
नाभाल्नीका प्रवक्ताले भनेका छन् गोप्य ढंगले अन्त्येष्टि नगरेमा शव जेलभित्रै गाड्ने भनिएको थियो ।