दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट सुरु

निकासखबर संवाददाता

काठमाडौं, १३ फागुन । दादुरा–रुबेलाविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । चैत ७ गतेसम्म सन्चालन हुने सो खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियान तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।

रुकुमपश्चिम र जाजरकोटमा भने यो खोप अभियान सम्पन्न भइसकेको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको हो । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारले राखेको छ ।

खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार ५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ ।

 

मा प्रकाशित