शिक्षा पत्रकार समूहले मनायाे रजत जयन्ती, पाँच जना सम्मानित

निकासखबर संवाददाता

काठमाडौं, ५ फागुन । शिक्षा पत्रकार समूहले आफ्नो रजत जयन्ती मनाएको छ । २५ वर्षअघि स्थापना भएको सो समूहले विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको हो ।

कार्यक्रममा प्रमूख अतिथि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा मुलतः स्थानीय तहलाई नै दिइएको भन्दै प्रयाप्त छलफल गरेर नै संविधानमा विद्यालय शिक्षालाई स्थानीय तहको अधिकार क्षेत्रभित्र राखिएको बताए । यसमा विभिन्न खालका टिकाटिप्पणी भइरहेको भन्दै आवश्यकता तथा जानेर नै स्थानीय तहलाई विद्यालय शिक्षाको अधिकार दिइएको प्रष्ट्याए । विद्यालय शिक्षा विधेयक हिउदे अधिवेशनबाट पास गर्नका लागि सरकार र समिति लागिपरेको भन्दै हिउँदे अधिवेशनबाट प्रतिनिधिसभाबाट पारित गराउने र बर्खे अधिवेशनमा राष्ट्रियसभाबाट पारित गरेर चाडै लागू गर्नतर्फ सरकार अग्रसर रहेको बताए ।

सो असवरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका ५ जनालाई पुरस्कार तथा सम्मान गरिएको थियो । पुरस्कृत हुनेहरुमा बर्दियाको ठाकुराबाबा नगरपालिका जो विगत एक वर्षदेखि पालिकाभित्र निःशुल्क शिक्षाको व्यवस्था गर्दै आएको छ । त्यस्तै विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट नेपालको सार्वजनिक शिक्षा सुधारका लागि योगदान पु¥याउँदै आएको एडुखबर डटकमका पत्रकार श्रीधर पौडेललाई पनि सम्मान गरिएको थियो । रजत जयन्तीकै अवसरमा तीर्थराज भूसालको स्मृतिमा स्थापित रु ३५ हजार राशीको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार २०८० प्रदान गरिएको हो ।
सामुदायिक विद्यालयको सिर्जनशील शिक्षक सम्मानतर्फ राष्ट्रिय आधारभूत विद्यालय माडी चितवनका शिक्षक मिल्सना महतोलाई सम्मान गरिएको थियो भने उत्कृष्ट प्रनाधाध्यपकतर्फ श्री भवानी आधारभूत विद्यालय इलामकी प्रधानाध्यापक रचना देवानलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट सामुदायिक विद्यालय व्यवस्थापन समितिबाट श्री सिद्धि गणेश मावि कागेश्वरी मनोहरा, काठमाडौंका व्यवस्थापन समितिका अध्यक्ष श्री राजकुमार थापा सम्मानित भएका छन् ।
कार्यक्रममा संसदको शिक्षा समिति सभापति भानुभक्त जोशी, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा, शिक्षा समिति सदस्य बद्री पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

रजत जयन्तीको उद्घाटन समारोहअघि प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिसँग साक्षात्कार कार्यक्रमको आयोजना गरिएको थियो । जसमा शिक्षा समिति सभापति जोशी र समिति सदस्य पाण्डे छलफलमा सहभागी भएका थिए । छलफल कार्यक्रममा बोल्दै समिति सदस्य पाण्डेले विद्यालय शिक्षा विधेयक थप विवादमा आउने देखिएको भन्दै कतिपय विषय समितिका लागि सहज भएपनि कतिपय विषय भने विवादित देखिएको बताए ।
समितिका सभापति जोशीले विधेयक निकै अप्ठ्यारो अवस्थामा रहेको बताए । अहिले अधिकारको लडाई देखिएको भन्दै अधिकारसँगै कतव्र्य पनि आउनुपर्नेमा उनको जोड दिए ।

संविधानको अनुसूची ९ मा शिक्षालाई तिनै तहको साझा अधिकारको विषयमा राखेको भन्दै विद्यालय शिक्षा विधेयक त्यही अनुसार अघि बढिरहेको उनको भनाई थियो । समितिले विधेयकमाथि छलफल गर्न एक पटक प्रदेशसम्म जान खोजिरहेको भन्दै केही समय प्रदेश तथा स्थानीय तहहरुलाई समेत छलफल गरिने बताए ।
अहिले विधेयकमा विद्यालय शिक्षाको मोडल कस्तो हुने भन्ने प्रमुख चुनौती रहेको उनको भनाइ छ । कस्तो मोडल हुने भन्ने विषय गम्भीर रहेको भन्दै यसमा सरोकारवालासँग छलफल गरेर मात्रै अघि बढ्ने बताए ।
कार्यक्रमा एक सय बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित