कपिलवस्तु बस दुर्घटना : मृतक १० जना कै सनाखत

निकासखबर संवाददाता

काठमाडौं, ३ फागुन । कपिलवस्तुमा आज भएको बस दुर्घटनामा मृत्यु भएका १० जना कै सनाखत भएको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटनामा परेको थियो । दुर्घटनामा ७ पुरुष र ३ महिलासहित १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले जानकारी दिएका छन् । मृतकहरु सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृतकहरुमा रौतहट औराही–३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् । यस्तै, भीमदत्त नगरपालिका–१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भाट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का बिसनदत्त भट्ट रहेका छन् ।

दुर्घटनामा थप ३० जना घाइते भएका छन् । जसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित