लमजुङ क्याम्पसमा नेविसंघ र अखिलका विद्यार्थीबीच कुटाकुट, चार जना घाइते

निकासखबर संवाददाता

लमजुङ, २७ माघ । लमजुङको कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा कांग्रेसनिकट नेविसंघ र नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीबीच कुटाकुट भएको छ ।

शनिवार विहान सुन्दरबजार नगरपालिका–७ स्थित क्याम्पसको होस्टलमा दुई पक्षबीच कुटाकुट भएको हो । नेविसंघनिकट भनिएका विद्यार्थी अखिलमा लगिएको निहुँमा विवाद सुरू भएको थियो । नेविसंघनिकट विद्यार्थीले चौरमा बसिरहेका विद्यार्थीमाथि विना कारण आक्रमण गरेको अनेरास्ववियुको दाबी छ ।

घटनामा अनेरास्ववियुमा आबद्ध चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने घटनामा संलग्न कसैलाई प्रहरीले नियन्त्रणमा भने लिएको छैन ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष समीक बडाल र गण्डकी प्रदेश अध्यक्ष प्रबिन श्रेष्ठले संलग्नलाई कारबाही गर्न छुट्टाछुट्टै विज्ञप्तिमार्फत प्रहरीसँग माग गरेका छन् । घटनामा संलग्नलाई कारबाही नगरिए जुनसुकै कदम चाल्ने चेतावनी अनेरास्ववियुले दिएको छ ।

मा प्रकाशित