प्रधानमन्त्री बन्ने ‘विप्लव’ को चाहना

निकासखबर संवाददाता

बुटवल, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पाँच वर्ष नेपालको प्रधानमन्त्री बन्न पाउने चाहना व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने दावी समेत गरे । उनले भने, ‘एक पटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’

संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको उनले बताए । उनले अन्य दलहरुसँग एक पटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह समेत गरे ।

विप्लवले भने, ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन, तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।’

२० औं शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको चन्दले बताएका छन् । दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने उनले आग्रह गरे ।

अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ । माओवादीसहित सबैजसो दलका नेताहरु श्रम संस्कारबाट च्यूत भएको भन्दै विदेशमा पुगेर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने उनले बताए ।

मा प्रकाशित