मुख्यमन्त्रीहरुको भरोसा टुट्न दिन्न, संघीयता कार्यान्वयनमा लाग्छु : प्रधानमन्त्री प्रचण्ड

निकासखबर संवाददाता

काठमाडौं, २४ माघ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय समन्वय परिषद्को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनको संवाहक हुनुका नाताले संघीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने बताए ।

उनले संघीयता कार्यान्वयनमा मुख्यमन्त्रीहरूले आफूमाथि गरेको भरोसालाई ट्ट्न नदिने समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘मप्रति भरोसा गर्नुभएको छ, यही शक्तिका साथ संघीयता कार्यान्वयनमा लाग्छु ।’

०७६ मा परिषद्सम्बन्धी कानुन बने पनि गत असारमा आफूले नै पहिलो बैठक राखेको चर्चा गर्दै उनले संघ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय र सुदृढ गर्न परिषद्को बैठक राखिएको बताए ।

उनले भने, ‘चारवर्ष एउटै बैठक नबसेर बित्यो । मैले ६ महिनामा २ वटा बैठक राखेर संघीयता कार्यान्वयनको पहल लिएको छु ।’ संघीयता कार्यान्वयन गर्न आफू मुख्यमन्त्रीहरूसँग लगातार छलफलमै रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिए ।

 

मा प्रकाशित