परिवर्तनको रक्षार्थ माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ११ मंसिर, २०८० ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तनको रक्षार्थ माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरेका छन् ।

विभाजित भएर लक्ष्यमा पुग्न नसिकनेतर्फ सङ्केत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु ।’ जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । यसअघि घाइतेहरुको सूचीमा छुटेकाहरुलाई पनि समावेश गर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको पनि बताए । पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको भन्दै उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत व्यक्त गरे ।

सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको भन्दै त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रतिष्ठानका संरक्षकसमेत रहेका अध्यक्ष प्रचण्डले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मा लिने विश्वास व्यक्त गरे । त्यसतै कार्यक्रममा उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताए । शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गरे ।

मा प्रकाशित