अब कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने

काठमाडौ, १९ भदौ २०८० ।

प्राइभेट कम्पनी पब्लिकमा रूपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन् । मंगलबार धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको सातौं संशोधन सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्डले दुई वर्षको कारोबार रेकर्ड भएका प्राइभेट कम्पनी पब्लिक हुनासाथ आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो ।

‘साबिकमा प्राइभेट लिमिटेडको रूपमा दर्ता भई कारोबार सञ्चालन गरेको कम्तीमा दुई आर्थिक वर्ष पूरा गरी पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनीको हकमा पब्लिक लिमिटेड कम्पनीको रूपमा एक आर्थिक वर्ष पूरा हुन आवश्यक पर्नेछैन’ संशोधित नियमावलीमा उल्लेख छ । यसअघि पब्लिकमा रूपान्तरण भएको एक आर्थिक वर्षपछि मात्रै आईपीओ प्रक्रियामा जान पाउने व्यवस्था थियो ।

त्यस्तै धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको अवधि १० वर्ष मात्रै रहेका कम्पनीलाई आईपीओ निष्कासनमा रोक लगाएको छ । संशोधित व्यवस्था अनुसार अब १ अर्ब चुक्ता पुँजी भई पछिल्लो २ वर्ष खुद मुनाफामा रहेको कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न सक्ने छ । यसअघि कम्तीमा तीन वर्ष नाफामा सञ्चालन भएको संस्थाले प्रिमियममा आईपीओ जारी गर्न पाउने व्यवस्था थियो ।

नियमावलीले गैर आवासीय नेपालीको लागि मात्रै लक्षित आईपीओ निष्कासनको स्वीकृति पनि दिएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति लिई विदेशी मुद्रामा समेत भुक्तानी हुनेगरी धितोपत्र निष्कासन गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

साउन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गर्दै नयाँ प्रावधान लागू गर्न स्वीकृति दिएको थियो ।

मा प्रकाशित