सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्टको आईपीओ भदौ २१ देखि खुल्दै, ५० रुपैयाँ प्रतिकित्ता भर्न पाइने

काठमाडौं, ११ भदौ २०८० ।

हाथवे इन्भेष्टमेन्ट नेपालले भदौ २१ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा गर्ने भएको हो । जसमध्ये कम्पनीले ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष र २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट समेत गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन ।

कम्पनीको सेयरमा सर्वसाधारण लगानीकर्ताले न्यूनतम २० कित्तादेखि १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सेयरमा भदौ २१ गतेदेखि भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज ४ गतेसम्म पनि आवेदन दिन सकिने व्यवस्था कम्पनीले गरेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी–आस्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर अनलाइन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

 

मा प्रकाशित