भदौ १९ देखि आइपीओ निष्काशन गर्दै भिजन लुम्बिनी उर्जा

काठमाडौं, १० भदौ २०८० ।

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा भदौ १९ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिकाका वडा नम्बर १,२,३, र ४ का स्थानीय र पोखरा महानगरका वडा नम्बर १९ का स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १९ लाख १२ हजार ५ सय कित्ता र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई १ लाख ९१ हजार २ सय ५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्काशन गर्न लागेको हो ।

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० कित्ताको लागि आवेदन दिन सक्ने छन । स्थानीयले छिटोमा असोज २ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने असोज २ गतेसम्म मात्र आवेदन दिन सक्ने छन । उनीहरुले न्युनतम १० कित्ता र अधिकतम १९ हजार १ सय २० कित्ताको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपश्चात दोस्रो चरणमा कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्नेछ ।

मा प्रकाशित