सर्वसाधारणका लागि भगवती हाइड्रोपावरको आईपीओ बिक्री खुला

निकासखबर संवाददाता

काठमाडौं, ५ भदाै, २०८० । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गते आजदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री तथा बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि कम्पनीले आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २२० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

आइपीओमा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आवेदन दिनको लागि छिटोमा भदौ ८ गतेसम्मको समय तोकिएको छ । सो अवधिमा माग बमोजिम आवेदन नपरेमा भदौ १९ गतेसम्म बिक्री अवधि तोकिएको छ ।

कम्पनीको शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आइपीओ खरिद गर्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन । साथै मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर एक साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । सो आयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।

कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रूपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ लाख ७०० रूपैयाँ कायम हुनेछ ।

मा प्रकाशित