काठमाडौं, १ असार । आज समाजवादी मोर्चा घोषणा नहुने भएको छ। आन्तरिक तयारी नपुगेको भन्दै आजका लागि तोकिएको मोर्चा गठनको घोषणा पछि धकेलिएको छ । असार १ गते समाजवादी मोर्चा घोषणा हुने भनिएपनि शुक्रबार बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयले मोर्चा गठनको घोषणा नहुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
‘सबै दलहरूको आन्तरिक तयारी नपुगेका कारण आज घोषणा हुने भनिएको समाजवादी मोर्चा घोषणा हुँदैन।’ बैठकपछि नेता खतिवडाले भने ।
बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम उपस्थित नै भएनन् । यसले गर्दा पनि औपचारिक निर्णय हुन नसकेको उनको भनाई छ । नेता खतिवडाले बैठकमा मोर्चामा सामेल हुने र छिटो घोषणा गर्नका लागि पहलकदमी लिने सर्वसम्मत निर्णय भएको जानकारी दिए ।
मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरुबीच सैद्धान्तिक सहमति भएको , लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुने बताए । एक वर्षअघिदेखि नै मोर्चा गठनका लागि नै पहल गर्दै आइरहेको भन्दै उनले मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा बैठकमा चर्चा गरिएको बताए ।
मोर्चामा दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी हुनेछन् ।