२ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ

निकासखबर संवाददाता

ललितपुर । २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आराेपमा मेडिसिटी अस्पतालका ३ जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याल रहेका छन् ।

उनीहरुले ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोप छ । पक्राउ परेका अस्पतालमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु रहेका छन् । उनीहरुलाई ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हाे।

पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए । उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको ‘शुक्र’ नामको एचएमआईएस सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविक शुल्क लिने र सफ्टवेयर इन्ट्रीमा भने वास्तविकभन्दा कम शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

यसरी उनीहरुले २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ।

मा प्रकाशित