महिलाको नाममा भू–स्वामित्व बढ्दै

निकासखबर संवाददाता

रसुवा । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ ।

महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै पारिवारिकरूपमा हुने विभेद हटाउन सरकारले विगत लामो समयदेखि राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्न थालेको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क मङ्गलबार धुञ्चेमा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय नुवाकोटले आठ सय २६ रसुवाली महिलाले एकलरूपमा भू–स्वामित्व कायम गरेको जानकारी दिएको हो । तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र छ सय ३८ महिलाको जग्गा मात्र रहेको छ । नौ सय ५० महिलाको भने श्रीमान्बीच संयुक्त जग्गाधनी प्रमाण पुर्जा लिएको तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामीले जानकारी दिए ।

बाइस हजार छ सय ५४ महिला रहेको रसुवामा क्रमिकरूपले महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । महिलाको नाममा जग्गामध्ये सदरमुकाम क्षेत्रमा २५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने प्रावधान रहेको मालपोत प्रमुख गणेश श्रेष्ठले जानकारी दिए ।

छब्बीस जातजाति रहेकोे रसुवाको कूल जनसङ्ख्या ४६ हजार छ सय तथा ८९ रहेको छ । तीमध्ये ३२ हजार एक सय २७ तामाङ समुदायको बाहुल्यता रहेको तयाङ्कले देखाएको छ । यस्तै ६९ दशमलव ६० प्रतिशत साक्षर रहेको रसुवामा ११ हजार एक सय ३१ परिवारले आवास निर्माण गरेको बताइएको छ ।

रसुवाबाट वैदेशिक रोजगारका लागि जानेमा नौ सय ७३ महिला एवं एक हजार तीन सय २९ पुरुष रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवा र नुवाकोट हेर्ने तथ्याङ्क कार्यालयले आम नागरिकलाई जनगणनाको नतिजाबारे जानकारी गराउन विवरण सार्वजनिकीकरण कार्यक्रम गरेको हो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित