सोलुखुम्बुको जनताले संघीयताको प्रत्याभूती गर्न पाएका छैनन्ः सांसद शेर्पा

निकासखबर संवाददाता

विराटनगर । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद गोम्बु शेर्पा ‘कज्र्याङ’ले सोलुखुम्बुको जनताले प्रदेश राजधानी विराटनगरबाट संघीयताको प्रत्याभूती गर्न नपाएको बताएका छन् । प्रदेशसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शेर्पाले सोलुखुम्बुका जनतालाई संघीय राजधानी काठमाडौं जानुभन्दा दुईगुणा बढि समय प्रदेश राजधानी विराटनगर आउन समय र खर्च लाग्ने भएकाले संघीयताको प्रत्याभुत गर्न नपाएको बताएका हुन् ।

‘सोलुखुम्बुका जनतालाई राजधानी काठमाडौं जानुभन्दा विराटनगर आइपुग्न दुई गुणा बढि समय, दुई गुणा बढि खर्च र तीन गुणा बढि कष्ट बेहोरेर विराटनगर आइपुग्न बाध्य छन्,’ सांसद शेर्पाले भने, ‘सोलुको जनताले मेरो प्रदेश मेरो प्रदेश राजधानी र मेरो प्रदेश सरकार भन्ने प्रत्याभूती, गौरव कहिले गर्न पाउनु पर्ने ?’ भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् ।

घुर्मी, कटारी र गाईघाटको मोटरबाटो सोलुखुम्बुका जनताको लागि उपयुक्त नभएको भन्दै विकल्प खोज्नुपर्ने बताए । ‘सोलुखुम्बु जनताको सुविधाको लागि अहिले तत्कालिन समाधानको रुपमा चतरा, जयरामघाट, दिप्लीघाट सगरमाथा क्षेत्रको मोटरबाटोको निर्माण प्रक्रिया तुरुन्त थानली होस’ शेर्पाले भने, ‘यसै आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गरेर मा्ेटरबाटोको थालनी गरियोस ।’

सोलुखुम्बुका जनतातालाई प्रदेश राजधानी विराटनगरसँग जोडिनका लागि दीर्घकालीन रुपमा चतरा, सगरमाथा सुरुङमार्ग सहित द्रुतमार्गको थालनी गर्नु पर्ने माग गरेका छन् । प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को छलफल चलिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
मा प्रकाशित