विराटनगरमा भएकाे दाेहाेराे झडपमा ३० जनाभन्दा धेरै घाइते

निकासखबर संवाददाता

विराटनगर । पहिचानवादी र सुरक्षाकर्मीबीच आइतबार कोसी प्रदेशसभा सचिवालयनजिकै झडप हुँदा विराटनगर रणभूमि बनेको छ । कोसी नामकरणको विरोधमा पहिचानवादीले आन्दोलन गरिरहेका छन् ।

दिउँसो २ बजेका लागि बोलाइएको बजेट अधिवेशन अवरोध गर्ने गरी प्रदर्शनकारीले प्रदेशसभा भवनको सय मिटरपूर्व देवकोटा चोकमा प्रदर्शन गरेपछि झडप भएको हो । त्यसक्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ गरी ३० जनाभन्दा धेरै घाइते भएका छन् ।

बिहानैदेखि प्रदेशसभा आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच आन्दोलनकारीले देवकोटा चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन थालेका थिए ।

ढुंगामुढा गर्दैै आन्दोलनकारी अघि बढ्न खोजेपछि सुरक्षाकर्मीले अश्रुग्यास, पानीको फोहरा र हवाई फायर गरेको थियो । प्रारम्भिक रूपमा आएको विवरणानुसार सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ कम्तीमा ३० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अहिले अवस्था सामान्य रहेको र आन्दोलनकारी त्यहाँबाट फिर्ता भएको मोरङका प्रहरी प्रमुख एवं एसपी दीपक पोखरेलले बताए ।

बाहिर झडप भइरहँदा प्रदेशसभा बैठक बसेको थियो । बैठकमा बोल्ने अधिकांश दलका सांसदले कोसी नामकरणको विरोधमा भएको आन्दोलन हिंसात्मक बन्ने खतरा रहेको भन्दै सरकारले वार्ताका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

आन्दोलनकारीले गरेको ढुंगामुढाबाट देवकोटा चोकस्थित स्वास्थ्य मन्त्रालयमा क्षति पुगेको छ । मन्त्रालयका झ्यालका सिसा फुटेका छन् । स्वास्थ्य निर्देशनालयको स्कारपियो गाडीमा समेत तोडफोड गरिएको छ ।

गएको फागुन १७ गते प्रदेशसभाबाट कोसी प्रदेश नामकरण भएसँगै त्यसको विरोधमा आन्दोलन चर्किएको छ ।

थप तस्बिर हेर्नोस्–

Aandolan 11685268793.jpeg

Aandolan 41685268791.jpeg

Aandolan 21685268791.jpeg

Aandolan 51685268789.jpeg

मा प्रकाशित