विराटनगरमा नामकरणको विरोधमा उत्रेका १३ जना पक्राउ

निकासखबर संवाददाता

विराटनगर ।  विराटनगरमा कोशी प्रदेश नामकरणको विरोधा उत्रेका  १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशसभा बैठक बोलाइएको दिन आन्दोलन गरिरहेका जातीय पहिचान पक्षधर आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरको देवकोटा चोकबाट १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा थिए । गत पुस १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । आज दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दैछ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनकोे घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरुले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने जनाएको छ ।

मा प्रकाशित