काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे दुवै देशले आज औपचारिक जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले एकै समयमा विज्ञप्ति जारी गरेर यही जेठ १७ गतेदेखि प्रधानमन्त्री प्रचण्डको भ्रमण हुने जानकारी गराएका हुन् ।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा प्रधानमन्त्री ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा मे ३१ तारिखमा भारतको औपचारिक भ्रमणमा जाने उल्लेख छ । चार दिने भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, र उपराष्ट्रपति जगदीप धनखरसँग भेट्ने कार्यतालिका छ । जेठ १८ गते समकक्षी मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने विज्ञप्तिमा जानकारी दिइएको छ ।
वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। सोही दिन भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यवसायीसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि छ ।
भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा प्रधानमन्त्रीले ३ जुन २०२३ मा काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको उल्लेख छ ।
नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने दुवै देशले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कार्यभार सम्हालेपछि नेपालका प्रधानमन्त्रीको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हुने र त्यसमा उच्चस्तरीय प्रतिनिधिमण्डल संलग्न हुने भारतीय विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।
यस्तै विज्ञप्तिमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध विगत केही वर्षमा सहयोगका सबै क्षेत्रमा उल्लेखनीय रूपमा सुदृढ भएको जनाउँदै यस भ्रमणले साझेदारीलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ ।