काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान हुने भएको छ । सो प्रकरणका आरोपितहरुले बयानमा नाम लिएका र कुनै न कुनै रुपमा संलग्नता देखिएकाहरुमाथि फेरि अनुसन्धान हुने भएको छ ।
बुधबार ३० जनाविरुद्ध अदालतमा मुद्दा पेश गर्ने क्रममा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान अघि बढाउने निर्णय गरेको हो । पक्राउ परेकाहरुले बयानका क्रममा नाम लिएका भएपनि अहिलेसम्म छानबिनको दायरामा नआएकाहरुको हकमा थप अनुसन्धान हुने भएको हो ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले ‘प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा स्वतन्त्र प्रमाणबाट कसूर गरेको खुल्न आएका बखत वा पक्राउ परी आएका बखत थप दावी लिई अभियोग–पत्र पेश गरिने’ जनाएको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अहिलेसम्मको अनुसन्धानका आधारमा पेश भएको प्रहरी प्रतिवेदनमा आधारित भएर आरोपितहरुलाई मुद्दा चलाउने निर्णय भएको जानकारी दिँदै कतिपय अवस्थामा थप अनुसन्धान अनिवार्य देखिएकाले प्रक्रिया अघि बढाउनु भनी निर्देशन भएको बताए ।
अभियोगपत्रमा नै बाँकीको हकमा अनुसन्धान गरेर पूरक प्रतिवेदन पेश गर्ने भनेको उनले बताए । सरकारी वकिल कार्यालयको निर्देशनपछि सो प्रकरणमा प्रहरीले अर्को अनुसन्धान अघि बढाउँने भएको छ । ६० दिनको समयसीमाका कारण अनुसन्धान पूरा हुन नपाएको पाटोमा थप अनुसन्धान हुने भएको हो ।
हालसम्म पक्राउ परेकामध्ये कतिपयले बयानका क्रममा नाम लिएका र अन्य प्रमाणका आधारमा समेत जोडिएका शक्तिशाली राजनीतिक व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने आवाज उठिरहेको छ । जाहेरीका साथ पेश भएको अडियो फाइलमा प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती एवं सांसद आरजु देउवा देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती एवं सांसद मञ्जु खाणको नाम छ । तर, उनीहरुमाथि अनुसन्धान भएको छैन ।
आरोपितहरुले बयानमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, छोरा प्रतिक थापाको नाम लिएका छन् । प्रतिक थापाविरुद्ध मुद्दा दायर भएको भएपनि बादल र उनकी पत्नीमाथि अनुसन्धान भएको छैन ।
प्रहरी प्रतिवेदनमा उल्लेख भएका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यका सचिव राजेश्वर स्थापित, पूर्वप्रधानमन्त्री ओलीका सल्लाहकार डा.अजयक्रान्ति शाक्यमाथि पनि सोधपुछसमेत गरेको छैन ।