लेनदेनको विषयमा गृह मन्त्रालयमै विवाद भएको थियोः रायमाझी

निकासखबर संवाददाता

काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नबीच गृह मन्त्रालयमै लेनदेनको विषयमा विवाद भएको बयान दिएका छन् । १६ पुस २०७७ मा काम विशेषले गृह मन्त्रालय गएको बेलामा स्वकीय सचिवको कार्यालयमा बसिरहेको अवस्थामा इन्द्रजित राईको कार्यकक्षमा छलफल हुँदा ठूलो स्वरमा आवाज आएको र कार्यकक्षमा छिर्दा इन्द्रजित राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच लेनदेनसम्बन्धी विवाद भएको सुनेको बयान दिएका छन् ।

कार्यकक्षबाट बाहिर आएपछि सानु भण्डारी र केशवप्रसाद दुलाललाई डुप्लिकेट काम गरेका त छैनौं ? भनी सोध्दा निजहरूले हामी पूर्वका मानिस हौं, शरणार्थीका लागि पनि हामीले डुप्लिकेट काम गर्छौं होला भनी प्रतिप्रश्न गरेका बयानमा भनेका छन् ।

त्यस्तै, रायमाझीले भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी र दीर्घकालीन समाधानको उपाय पहिल्याउन बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन भएको जानकार भएको बताएका छन् ।
त्यस्तै, उनले इन्द्रजित राईलाई चिनाइदिएको भन्ने कुरा सरासर गलत भएको बताएका छन् । प्रतिवादी इन्द्रजित राई र प्रतिवादी सानु भण्डारीबीचको लेनदेन विषयमा उनले जान्ने कुरा हो, मलाई जानकारी छैन, निजले मलाई दिएको भनेको रकमबाट मैले कुनै रकम लिएको छैन, रायमाझीले बयानमा भनेका छन् ।

सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘टोपबहादुर मामा’ भनी रायमाझीको नाममा पैसा भुक्तानी भएको विवरण भेटिएको थियो । डायरीमा उल्लेख भए पनि आफूले कसैसँग रकम नलिएको दाबी रायमाझीले गरेका छन् ।

उनले केवल पौने घण्टामा घुमेर आउन सकिन्छ भनेकाले आफू केशव दुलाल र सानु भण्डारीसँग हेलिकोप्टरमा गोसाईंकुण्ड घुम्न गएको उल्लेख गर्दै बयानमा भनेका छन्, ‘म उनीहरूको कुरामा सहमत भई गोसाईंकुण्ड गई फोटो खिचाइ फर्किएका हौं । म सो ठाउँमा घुम्न जाँदाको अवस्थामा मैले सामान्य रूपमा लिएको थिएँ ।’

उनले आफ्नो छोरा पक्राउ परेको, पक्राउपछि हत्कडी लगाएको खबर सुनेकाले मन बिग्रिएको भन्दै त्यसपछि सम्पर्कविहीन भएको बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकाले आफूलाई पनि पक्राउ गरी हत्कडी लगाउँछन् भन्ने लागेकाले मन बिग्रिएको हुँदा केही अवधि सम्पर्कविहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो ।’ नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो । रायमाझीलाई भने प्रहरीले वैशाख ३१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

आफूले भुटानी शरणार्थीको दीर्घकालीन समाधान होस् भन्ने धारणा राख्दै आएको तर गैरभुटानीलाई शरणार्थी बनाएर अमेरिका पठाउने कार्य नगरेको पनि बयान दिएका छन् । ‘बाँकी रहेका पीडित भुटानी शरणार्थीहरूको दीर्घकालीन समस्याको समाधान हुनुपर्छ भन्ने मेरो धारणा रही आएको छ । गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुन्छ भन्ने मलाई लाग्छ,’ उनले बयानमा भनेका छन् ।

मा प्रकाशित