प्रहरी र मिडियाले दोषी करार गर्दैमा दाेषी हुँदैनः कांग्रेस सभापति देउवा

निकासखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठको आरोपमा पक्राउ परी हाल हिरासतमा रहेका नेता बालकृष्ण खाँणको बचाउमा नलागेको भन्दै असन्तुष्टि पोखेका छन् ।

सभापति देउवालाई भेट्न मंगलबार उनको धुम्बाराहीस्थित निवास पुगेका खाँणनिकट युवा नेता, केन्द्रीय सदस्य, सांसदले पार्टीको भूमिकाप्रति आक्रोस पोखेका हुन् ।

स्रोतका अनुसार, खाणँ पत्नी मञ्जुले आफ्नो श्रीमानलाई फसाइँदासमेत पार्टीले केही नगरेको गुनासो गरेकी थिइन् । शरणार्थी प्रकरणमा प्रहरीको निगरानीमा रहेको सूचना चुहिएपछि पक्राउ परेका आफ्ना श्रीमान्लाई समेत भेट्न नगएर फरार मञ्जु केही दिनअघिबाट मात्र सार्वजनिक कार्यक्रममा देखिएकी थिइन् । प्रहरीले पक्राउ नगर्ने निश्चित भएपछि अस्ट्रेलिया पुगेकी उनी पुनः स्वदेश फर्किएको दाबी गरिएको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने भने भएको छैन ।

‘पार्टीका नेता खाँणलाई भुटानी शरणार्थी प्रकरणमा फसाइँदा समेत पार्टी पंक्तिले केही गरेन,’ खाँण पत्नी मञ्जुले देउवासँग गरेको गुनासो उद्धृत गर्दै स्रोतले भन्यो ।

जवाफमा देउवाले छानबिनका लागि खाँण पक्राउ परे पनि कानूनी प्रक्रियामा निर्दोष सावित हुने विश्वास गरेका थिए । खाणँलाई अहिले प्रहरी र मिडियाले मात्र दोषी सावित गरेको र त्यो अदालतबाट पुष्टि नहुने देउवाको जिकिर थियो ।

‘उहाँ (खाँण) यो प्रकरणमा संलग्न हुनुहुन्छजस्तो मलाई लाग्दैन । अहिले नै दोषी भएजस्तो गरी प्रस्तुत गरिएको छ । प्रहरी र मिडियाले दोषी ठहर्याउँदैमा हुँदैन । कानूनी प्रक्रियामा उहाँ निर्दोष सावित हुनुहुन्छ भन्ने मेरो विश्वास रहेकाले अहिले नै धेरै चिन्ता गर्नु पर्दैन,’ देउवाको भनाइ उद्धृत गर्दै सहभागी एक नेताले भने ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा सक्रिय व्यक्तिको बयानका आधारमा गत वैशाख २७ गते प्रहरीले खाँणलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउपछि अनुसन्धानलाई सघाउन पार्टीको जिम्मेवारीबाट निलम्बन गर्नुपर्ने मत कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राख्दै आएका छन् । उनीहरूले यसबारे छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन मागसमेत गरेका थिए । तर खाँण निलम्बनको विषय बैठकमा आउन सक्ने भयले केन्द्रीय समितिमा बहुमतमा हुँदाहुँदै पनि देउवाले त्यसलाई छल्न बैठक बोलाउन सकेका छैनन् ।

मा प्रकाशित